पिएम कप क्रिकेट :तनहुँलाई हराउँदै स्याङ्जा च्याम्पियन

हिमाली आवाज । पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा स्याङ्जा च्याम्पियन बनेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदान सम्पन्न फाइनल खेलमा करण पँगेनीको अर्धशतकको योगदानमा स्याङ्जाले तनहुँलाई ८१ रनले पराजित गरी उपाधि जितेको हो ।

खेलमा स्याङ्जाले टस जित्यो र सुरुआतमा ब्याटिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलमा ३९ ओभरमा अलआउट हुँदै स्याङ्जाले एक सय ८२ रन रनको मध्यमस्तरको योगफल बनाएको थियो । टोलीको मध्यमस्तरको स्कोर बनाउन पँगेनीले सर्वाधिक ८२ रनको योगदान दिनुभयो ।

उपाधिका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको तनहुँले जम्मा एक सय एक रनमात्र बनाउन सक्यो । तनहुँले २७ ओभरको चौथो बलमा सबै विकेट गुमायो ।

स्याङ्जाका तुलसीराम भण्डारीले सर्वाधिक पाँच विकेट लिनुभयो । यसैगरी विपिनराज न्यौपानले दुई तथा सन्दीप खत्री, किरण भट्टराई र आश्विन रानाले एक÷एक विकेट लिनुभयो ।

तनहुँका समिर कँडेलले सर्वाधिक २७, उत्सव श्रेष्ठले २६ र प्रदीप अर्यालले १४ रन बनाउँदा अन्य ‘ब्याट्सम्यान’ले दोहोरो अङ्कको रन जोड्न सक्नुभएको थिएन । खेलमा सर्वाधिक पाँच विकेट लिनुभएका स्याङ्जाका तुलसीराम भण्डारी ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो।

तनहुँका कृष ऐर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । स्याङ्जाका इश्वर क्षेत्री उत्कृष्ट ‘ब्याट्सम्यान’ र तनहुँका सन्दीप पराजुली ‘उत्कृष्ट बलर’ घोषित हुनुभयो । प्रतियोगिताको विजेता टोली र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा लगायतले ट्रफी र मेडल पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताको प्रदर्शनका आधारमा आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा यही पुस २८ गतेदेखी राजधानी काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २८ गते लुम्बिनी प्रदेशसँग खेल्ने खेल तालिका छ ।

Comments
Loading...