माछापुच्छ्रेमा भोलीदेखी अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकाको आयोजनामा गण्डकी प्रदेशका स्थानीय तहहरुकाबीचमा भोलीदेखी अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने लक्ष्य सहित आयोजना हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सो प्रतियोगिता माछापुच्छ«े गाउँपालिका—३ घाचोकस्थित मेघराज आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १५ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट प्रतिनिधित्वका लागि गाउँपालिकाले प्रयास गरेको छ । गण्डकीमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

“गण्डकी प्रदेशका ८५ वटै पालिकामा सहभागिताका लागि पत्राचार गरेका थियौँ । ” उपाध्यक्ष अधिकारीले भन्नुभयो,“प्रतियोगिताले खेलकुद विकास सहित पालिकाहरुकाबीचको सम्बन्धलाई थप प्रगाढ बताउने विश्वास छ ।”

प्रतियोगितामा उपाधि बिजेता टोलीले नगद रु तीन लाख र उपबिजेताले नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सेमिफाइनलका दुई टोलीलाई जनही रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद रु सात हजारका साथमा ट्रफी र उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, डिफेन्डर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु पाँच हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव रु १२ लाख ८३ हजार खर्च लाग्नेसँगै सो अवसरमा भलिबल खेल अतिरिक्त सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेतको प्रस्तुती रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो ।

Comments
Loading...