हिमाली आवाज । पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताउनुभएको छ । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उहाँको भनाई छ ।
कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघको आठौं साधारण सभाको उद्घाटन गर्दै उहाँले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने प्रतिवद्धता जनाउनुभयो । मेयर आचार्य निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाउँदा, प्रक्रिया झन्झटिलो हुँदा तथा कतिपय अवस्थामा कर्मचारीहरु रिझाउनै पर्ने अवस्था रहेको भन्ने व्यवसायीहरुले उठाएको गुनासोको उत्तर दिँदै भन्नुभयो ।
मेयर आचार्यले भुक्तानीको लागि प्रक्रिया पु¥याउनुपर्नेमा जोड दिनुभयो । हेभी इक्विपमेण्ट व्यवसायीहरुले गरेको ठूलो लगानीको संरक्षण हुनुपर्ने बताउँदै उहाँले व्यवसायीहरुलाई पनि अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइरालाले राज्यले लिएको गलत नीति, हेभी इक्विपमेण्ट व्यवसायीलाई हेर्ने गलत दृष्टिकोण कारण व्यवसायीहरुमा निराशा छाएको बताउनुभयो ।
विकास बजेट खर्च नहुँदा मेसिनहरु थन्किएर बसेको जिकिर गर्दै कोइरालाले भन्नुभयो,‘गण्डकी सरकारको अर्थ मन्त्रालयले पुस १ गते दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि पूँजीगततर्फ करिब २० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म जम्मा १० प्रतिशत अर्थात् २ अरबको हाराहारीमा मात्र खर्च भएको छ । हाम्रा सरकारहरुको विकास निर्माणको गति कस्तो छ भन्ने अर्थ मन्त्रालयको यही तथ्यले प्रष्ट पार्छ । यस्तोमा भौतिक निर्माणको काम गर्ने हामी हेभी इक्विपमेण्ट व्यवसायीहरुको हालत के होला ?’
नेपाल हेभी इक्विपमेण्ट व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष उमाकान्त शर्माले पनि विकास निर्माणको काम सुस्त हुँदा र भुक्तानी समयमा नहुँदा देशभर रहेका हेभी इक्विपमेण्ट व्यवसायीहरु पीडित भएको बताउनुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नेपाल इन्स्योरेन्स कम्पनीका गण्डकी प्रखुख कल्याण अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मा , हेभी इक्विपमेण्ट मेकानिकल संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, हेभी इक्विपमेण्ट महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुँवर, केन्द्रीय सदस्यहरु प्रभुराम श्रेष्ठ र खिन्तबहादुर भण्डारी, कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघका संस्थापक अध्यक्ष, लीलामोहन कुइँकेल , हेभी इक्विपमेण्ट व्यवसायी महासंघका महासचिव सुरेश खत्री,निवर्तमान अध्यष तथा गण्डकी प्रदेश संयोजक निश्चल पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।