माओवादीमा अब नेताहरुको मुल्याङ्कन फिल्डमा खटिएका आधारमा : सचिव पौडेल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीपंक्तिमा नयाँ जागरण पैदा गरेको बताउनुभएको छ ।

पार्टीको पोखरा महानगर कमिटीले अभियानको समापनका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले चाडपर्व, भूकम्प लगायतका कारणले अभियानलाई केही प्रतिकूल प्रभाव पारेपनि अभियानले पार्टीलाई जनतासँग जोड्ने काममा सफलता प्राप्त गरेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका नेता पौडेलले भन्नुभयो,“यस अभियानले पार्टीका नेता कार्यकर्ताहरुमा नयाँ उत्साह कायम गरेको छ र पार्टीमा नयाँ जागरण पैदा भयो । पार्टी संगठनलाई स्वचालित बनाउन अभियान कोशेढुँगा सावित भएको निष्कर्ष निकालेका छौँ ।”

नेता पौडेलले कार्यसम्पादनका आधारमा नेता तथा कार्यकर्ताको मुल्याङ्कन हुने र जिम्मेवारी प्रदान गर्ने प्रणालीको विकास गरिने बताउनुभयो ।
“फिल्डमा नजाने तर अध्यक्षकहाँ गएर अनुहार देखाएर वा अरु कुनै प्रकारले प्रभाव पारेर जिम्मेवारी प्राप्त गर्ने कुरा अब पार्टीमा अन्त्य भएको छ ।” सचिव पौडेलले भन्नुभयो,“ नेताहरुको मुल्याङ्कन अब फिल्डमा कति काम गर्यो, कति समय दियो भन्ने आधारमा हुनेछ ।”

नेता पौडेलले चार महिनाको अभियानका क्रममा जनताबाट प्राप्त सुझावका आधारमा अब पार्टीलाई सञ्चालन गरिने स्पष्ट पार्नुभयो । पार्टीको छिटै हुने विधान अधिवेशनले पार्टी कमिटी र संगठनलाई स्वचालित प्रणालीमा सञ्चालन गर्ने विधि बनाउने उहाँको भनाई थियो ।

नेता पौडेलले अझै पनि श्रमिक, उत्पीडित बर्ग, समुदायको विश्वास माओवादीप्रतिनै रहेको जिकिर गर्दै सुकुम्वासी समस्या, मजदुरका समस्यालाई पार्टीको नेतृत्वमा रहेको सरकारले पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका इन्चार्ज पारशमणि पौडेलले अवसर खोज्ने तर चूनौतीको सामना गर्न नसक्ने प्रवृत्ति नेता कार्यकर्तामा रहेकाले सोको अन्त्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले अभियानका क्रममा पोखराका ३३ वटै वडाहरुमा पार्टीका बैठक, भेला, प्रशिक्षण सरसफाई तथा वृक्षरोपण लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

पार्टीका अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले पार्टीलाई क्रियाशील बनाउन अझै मेहनत गर्नुपर्ने र लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीको महानगर समितिका अध्यक्ष हरिनारायण गिरी विज्ञानले अभियानले पोखरा महानगरको पार्टीलाई चलायमान बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा निरन्तर जनताका बीचमा जाने गरी कार्यक्रम तय गरिने बताउनुभयो ।

कार्यक्रममा पार्टीका सचिव जनकराज पराजुलीले हरेक वडामा सदस्यता नविकरण, नयाँ सदस्यता वितरण लगायतका काम निरन्तर सञ्चालन हुने बताउनुभयो । उहाँले पोखराको विकास निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गरिने बताउनुभयो ।

Comments
Loading...