हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आगामी माघ १ देखी ६ गतेसम्म चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ ।
खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु भएको जनाएकोछ ।
देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन सहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिता गरिने आयोजकको भनाई छ ।
प्रतियोगितामा पुरुष तथा महिलाका छ ÷छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता खेल्न पहिलो पटक भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने छ । महिलातर्फ चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश र तीन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र ससस्त्र प्रहरीको एपिएफ क्बले सहभागिता जनाउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तिन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अध्यक्ष शर्माले यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरिएको जानकारी दिनुभयो । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । विजेता टोलीको पुरस्कारमा अघिल्लो वर्षको तुलनामा रु ५० हजार बढाइएको हो ।
यसैगरी उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।