पोखरा सडक महोत्सव आजदेखी सुरु हुँदै

हिमाली आवाज । २५औँ संस्करणको सडक महोत्सव आजदेखी सुरु हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

महोत्सवको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसअघि बिहान ११ बजे हल्लनेचोबाट बाजागाजा सहित सांस्कृति झाँकी निस्कने छ ।

े सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपरको ३ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको छ । होटल प्रतिनिधि समाज पोखराको आयोजनामा भएको कार्यक्रममा रेवानले सहकार्य गरेको थियो । राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मुलाखेत, अम्मट, गौरीघाट, बाराहीघाट हुँदै खहरेसम्म सरसफाई गरिएको छ । होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालले जानकारी दिनुभयो।

कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्ष सहितका प्रतिनिधिले साथ दिएका थिए । कार्यक्रमको समापनका अवसरमा रेवानका अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले सरसफाई कार्यक्रममा सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।  रेवान अध्यक्ष भट्टराईले महोत्सवमा स्वास्थ्य, सुरक्षा लगायतमा पनि आयोजकले विशेष ख्याल राखेको बताउनुभयो ।

Comments
Loading...