हिमाली आवाज । घरेलु टोली गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग पराजित भएपछि विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरामा सञ्चालन भइरहेको ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज घरेलु टोली गण्डकी प्रदेश लुम्बिनी प्रदेशबीचको खेलमा लुम्बिनी पाँच रनले विजयी भएको हो ।
पहिलो खेलमा एपिएफलाई पराजित गरेको गण्डकी सेमिफाइनल प्रवेशमा लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा लुम्बिनी पराजित भयो । यसअघि एपिएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । ‘नेट रनरेट’कै आधारमा एपिएफ अन्तिम चारमा पुग्न सफल भयो ।
खेलमा सुरुआती ब्याटिङ गरेको लुम्बिनीले गण्डकीलाई जितका लागि एक सय चार रनको लक्ष्य प्रस्तुत गरेको थियो । लुम्बिनीले निर्धारित पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।
लुम्बिनीका धुब्र सुनार र नर सार्कीले समान २३÷२३ रन तथा विराट भण्डारीले १६ रनको योगदान दिनुभयो । गण्डकीका अमृत गुरुङले सर्वाधिक तीन, चन्द्र पौडेलले दुई, विपिन खत्री,सुदीप अर्याल र दिनेश बुढामगरले एक÷एक विकेट लिनुभयो ।
जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली गण्डकी १८ ओभरको पाँचौ बलमा अलआउट हुँदै ९८ रन मात्र बनायो । सुदीप अर्यालले सर्वाधिक ३५ तथा कप्तान विपिन खत्रीले १९ रन बनाउनुभयो । खेलको म्यान अफ दी म्याच घोषित लुम्बिनीका मोहम्मद हुसैनले सर्वाधिक चार विकेट र अजय लुनियाले तीन विकेट लिनुभयो ।
यही मङ्सिर ७ गतेदेखी सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मददन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।