हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु भएको छ ।
पोखरा महानगरपालिका—१३ स्थित आर्बा–बिजय डाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । सहभागी खेलाडीमा पाँच जना महिला छन् ।
साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीहरुलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुन्द्री सतहबाट एक हजार ३६० मिटर उचाइमा रहेको आर्वा–बिजय डाँडामा सुरु भएको हो । प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ ।
प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । प्रमुख आचार्यले सिङ्गापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको हो ।
प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद रु ५० हजार उपविजेतालाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
महिला तर्फ सोही इभेण्टमा विजेतालाई रु ३५ हजार, उपविजेतालाई रु २५ हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्का प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै प्रमुख आचार्यले पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा विकास गर्नका लागि खेलकुद प्रतियोगितालाई महानगरले सहयोग गर्दै आएको बताउनुभयो ।
“पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरले योजना बनाएर काम गर्दै आएको छ । आचार्यले भन्नुभयो,“प्राविधिक हिसाबले आर्वाको डाँडा प्रतियोगिता सञ्चालनका लागि उपयुक्त भएपछि छनोट गरेका हौँ ।”
पोखरा महानगरपालिका— १३ का वडाध्यक्ष किरण बरालले विकासमा पछाडि परेको आर्वाको भौतिक तथा पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा—१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले पर्यटन विकासबाटनै पोखराको समृद्धि हासिल गर्न सकिने भएकाले वडाका पर्यटकीय क्षेत्रको विकासमा महानगरले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।