पोखरामा सुरु भयो केपी ओली कप राष्ट्रिय क्रिकेट, उद्घाटन खेलमा बागमती विजयी

हिमाली आवाज । पोखरामा आजदेखी केपी ओली कप राष्ट्यि क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले बिजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी(रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो ।सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
खेलमा जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक रातो १४ ओभरको दोस्रो बलमा अलआउट हुँदै जम्मा ७५ रनमात्र जोड्न सफल भयो ।प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलमा नेपालको सफलता बढ्दै गएको बताउनुभएको छ ।उहाँले नेपालमा क्रिकेट पछि सुरु भए पनि विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने भएको बताउनुभयो ।

“हामी विस्तारै क्रिकेटको क्षेत्रमा सफलतापूर्वक अघि बढीरहेका छौं । आज हामी विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेका छौं”, उहाँले भन्नुभयो ।खेलको विकासका लागि पूर्वाधार विकाससँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिदै उहाँले खेललाई व्यवसायिक रुपमा स्तरोन्नति गर्दै जानुपर्ने बताउनुभयो ।

खेलमा शारीरिक तथा मानसिक क्षमताको संयुक्त प्रदर्शन हुने बताउँदै अध्यक्ष ओलीले खेलबाट हाम्रो पहिचान र गरिमा बढाउन सकिने बताउनुभयो ।नेकपा एमाले नेतृत्वको सरकारको समयमा दशरथ रंगशाला देखि देशका विभिन्न रंगशालाको निर्माण गरेको उहाँले बताउनुभयो ।
खेलप्रतिको आउँदो अभिरुचि लगायतलाई दृष्टिगत गरी रंगशालाहरू निर्माण गरिनु जरुरी रहेको उहाँले बताउनुभयो । मदन भण्डारी फाउन्डेशनले खेलका माध्यमबाट राष्ट्रको गरिमा बढाउन गरेको सुरुवात प्रशंसनीय भएको उहाँले बताउनुभयो ।

पूर्व उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने बताउँदै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले नेतृत्वको सरकारका समयमा खेल क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताउँदै उहाँले खेल बुझेको सरकार नहुँदासम्म यस क्षेत्रको विकास गर्न नसकिने बताउनुभयो ।कार्यक्रममा मदनभण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, उपाध्यक्ष राजेश गुरुङ लगायतले बोल्नुभएको थियो ।

प्रतियोगितामा सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।‘सबैका लागि खेलकुद’ को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो ।

Comments
Loading...