हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता प्रथम केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
एकेडेमीका संरक्षक समेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो ।
प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखी १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।
एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको अध्यक्ष आचार्यको भनाई छ ।
उहाँले भन्नुभयो,“अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखी युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधिहरु, खेल प्रशिक्षण र प्रतिस्पर्धाहरु आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिक सहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”
संघीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमीहरू लाभान्वित भएको एकेडेमीको भनाई छ ।
पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्व राष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताउनुभयो ।
एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरुवर्ग र खेललाई माया गर्ने खेलप्रेमीहरु आवद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।