पोखराको सहरी पूर्वाधार विकासमा एसियाली विकास बैँकले सघाउने

हिमाली आवाज । पोखरा महानगर प्रमुख धनराज आचार्य र एसियाली विकास बैँक(एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच पोखरामा भेटवार्ता भएको छ ।

उहाँहरुबीच एडिबीको सहयोगमा सञ्चालन हुने सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावनाका बारेमा भेटवार्तामा छलफल भएको हो ।

एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति गरिने छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनाहरुमा आर्थिक सहयोग गर्नेभएको छ । त्यस्ता परियोजनाहरु छनोट भइसकेका छन् ।

जसअन्र्तगत शहीदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तरगत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव .०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।पञ्चासे १०० भन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।

एडिबीकै सहयोगमा लेक टु लेक साइकल ट्र्याक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ । परियोजना अनुसार नौ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ ।

फेवाताल सुधार परियोजना अन्तरगत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्शन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरूको निर्माण गरिनेछ । यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ ।

रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तरगत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ ।

इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन् । यसमा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछन् ।

शान्ति बन बाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजना अन्तरगत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । जहाँ जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ ।

अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिका वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागू गरिनेछ ।

रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनी सम्म १.५ कि.मि सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भैसकेको छ ।

यस परियोजनाको लागि डीएससीएस खरिदको लागि टीओआरको तयारी भइरहेको छ । यसमा दुई मिलियन अमेरिकी डलर खर्च हुनेछ । यी लगायतका परियोजनाहरूका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजनाहरू तोकिए कै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमान सहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल रहनुभएको थियो । परियोजनामा एडिबीले ७५ प्रतिशत र पोखरा महानगरपालिकाले २५ प्रतिशत लगानी गर्नेछ ।

Comments
Loading...