हिमाली आवाज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।
अस्पतालका अनुसार विसं २०६५ भदौ ३० देखी विसं २०६६ भदौ २० गतेसम्म जन्ममिति रहेका किशोरीहरुलाई खोप दिइएको छ । किशोरीहरुलाई पाठेघरको क्यान्सर रोग लाग्न नदिनका लागि सरकारले देशका सात प्रदेशका सात वटा अस्पतालमा खोप डेमोस्ट्रेसन सञ्चालन गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज र भोली दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एफएआई कमिटीका अध्यक्ष डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुरु गरिएको यस खोप गण्डकी प्रदेशमा नौ सय जना किशोरीलाई लगाइने छ । अन्य खोप जस्तै सुरक्षित रहेको खोप लगाएपछि कुनै समस्या नआउने उहाँले बताउनुभयो।
डा बास्तोलाले भन्नुभयो,“अन्य खोप जस्तै यस ‘एचपिभी’ खोप पनि सामान्य र सुरक्षित रहेको छ । छोरी मान्छेलाई क्यान्सरबाट बचाउनका लागि अत्यन्त प्रभावकारी समेत छ । विदेशमा पहिलदेखीनै सञ्चालन रहेपनि नेपालमा अहिलेदेखी सुरुआत गरिएको हो । अबदेखी नियमित सञ्चालन हुन्छ ।”
खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय ३० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्र रिजर्भमा राखिएको अस्पतालले जनाएको छ ।
बाल रोग विशेषज्ञ बास्तोलाले अस्पतालमा खोपपछिको समस्या आएमा त्यसलाई व्यवस्थापनका लागि समेत तयारी गरिएको जानकारी दिनुभयो ।किशोरीलाई खोपका बारेमा जानकारी दिनका लागि एक जना काउन्सिलरको व्यवस्था गरिएको बताइन्छ । खोप दिएपछि ३० मिनेटसम्म शान्त ठाउँमा राख्ने गरिएको छ ।
“खोपपछिको समस्या आएमा व्यवस्थापनका लागि तयारीमा छौँ । खोप सुरक्षित छ, क्यान्सरजस्तो खतरनाक रोगबाछ जोगिनका लागि आउँदा खोप लगाउनका लागि सबैले किशोरीहरुलाई हौसला दिऔँ ।” डा बास्तोलाले भन्नुभयो । अस्पतालमा तोकिएको उमेर समूहका किशोरीहरुलाई जन्म दर्ता प्रमाणपत्रका आधारमा खोप दिइएको छ ।