पोखरा विमानस्थलबाट ४२ यात्रु बोकेर भुटानको थिम्पु उड्यो ड्रुक एयर(फोटो फिचर)

हिमाली आवाज । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रु सहित शनिबार बिहान ६ः४० मा पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः १५ बजे ४२ यात्रु बोकेर थिम्पुनै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । पोखरा विमानस्थल गत पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिन भव्य उद्घाटन गरिएको थियो ।

पोखराबाट थिम्पु जान लागेका पर्यटकहरुलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाई गरिएको थियो । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायी लगायतले यात्रुहरुको बिदाई गर्नुभएको हो ।

पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार प्रति यात्रुु रु तीन हजार विमानस्थललाई आम्दानी भएको छ ।

कर्णले भन्नुभयो,“यो पोखराको पहिलो कर्मसियल उडान हो । यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौँ, चार्टरको रुपमा आएको हो । यसका लागि मिहिनेत गरेका थियौँ, कम्पनीलाई राम्रो सुविधा दिन्छौँ भनेर प्रतिवद्धता गरेका थियौँ, यसबाट उनीहरु कन्भिस भएर आएका हुन् ।”

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीलेनै चार्टर गरेका थिए ।उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङ लगायतका विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए ।

काठमाडौँबाट उनीहरु आठ वटा हेलिकप्टरमा पोखरा आएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान अझै हुन सकेको छैन । आन्तरिक उडानमा विमानस्थल सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो ।

Comments
Loading...