हिमाली आवाज । कास्की जिल्लाको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ ।
मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवार मध्ये दुई घर पूर्ण रुपा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् ।
पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेका हुन् ।
यही असार १९ गतेको अविरल वर्षाले मादी—६ को काहुँखोला—दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पु¥याएको थियो ।
पहिरोबाट विस्थापित मादी—६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट रु ७० हजार र प्रशासनबाट रु २५ हजार राहत रकम प्रदान गरियो ।
त्यसैगरी दीपक बरालाई गाउँपालिकाबाट रु ५० हजार र प्रशासनबाट रु २० हजार, शममेर पाण्डेलाई पालिकाबाट रु ३० हजार र प्रशासनबाट रु १५ हजार, भुवनसिँहलाई पालिकाबाट रु २० हजार र प्रशानबाट रु १५ हजार राहत रकम प्रदान गरिएको ।
पहिरो पीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट रु १५ हजार र गाउँपालिकाबाट रु २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट रु १५ हजार प्रशासनबाट रु १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका—६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पीडित परिवारलाई गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मी लगायतले राहत वितरण गर्नुभएको हो ।
पहिराले पूर्ण रुपमा घरमा क्षति पुगेका दीपक र शमशेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुबै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
अविरल वर्षा तथा पहिराका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामिण सडकहरुमा पहिराले क्षति गराएको छ ।