गण्डकी प्रज्ञा प्रतिष्ठानबाट सात श्रष्टालाई सम्मान

हिमाली आवाज । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर गुरुङ पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ रहनुभएको छ ।

उहाँहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, गण्डकी प्राविधिक शिक्षा तथा तालिम केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटा लगायतले सम्मान अर्पण गर्नुभयो ।

यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित हुनुभयो । उहाँलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरियो ।गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की परिवर्तन र लक्ष्मी थापा सम्मानित नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाबाट सम्मानित हुनुभयो ।

प्रतिष्ठानका कुलपति विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनुभएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजित कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाए । यसैगरी झाँकी प्रदर्शन, नृत्य प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए ।

प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभयो ।

Comments
Loading...