गण्डकी प्रदेशमा छोटो समयमा द्रुत गतिमा काम गरेँ:मन्त्री गाहामगर

हिमाली आवाज । गण्डकी प्रदेशका आन्तरिक मामिला, कानुन मन्त्री तथा सरकारका प्रवक्ता रोशन गाहामगरले छोटो समयका लागि आफू मन्त्री बनेको भए पनि परिणाम राम्रो आएको दावी गर्नुभएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले मुस्ताङको जोमसोममा मंगलबार आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रममा प्रवक्ता गाहामगरले आफ्नो कार्यक्रम छोटो समयका लागि भए पनि सफल भएको उल्लेख गर्नुभयो । मन्त्री गाहामगरले आफू पछि आउने नयाँ मन्त्रीले पनि यसरी नै द्रुत गतिमा प्रदेशका लागि काम गर्ने आशा व्यक्त गर्नुभयो ।

‘परिणाम आउने कामहरु अहिले भइरहेका छन्, आगामी आउने मन्त्रीले पनि यसरी परिणाम आउने काम गर्नुहुनेछ भन्ने आशा छ,’ उहाँले भन्नुभयो । मुस्ताङ र नवलपुर जिल्ला गण्डकी प्रदेशको महत्वपूर्ण जिल्ला भएको बताउँदै उनले यी २ जिल्लालाई जोडेर पर्यटनको माध्यमबाट आयआर्जन गर्न सकिने उहाँकोभ भनाई छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले पत्रकारिता क्षेत्र र पत्रकार सरकार तथा आम नागरिकको मध्यस्तकर्ता भएको बताउनुभयो । पत्रकारले निष्पक्ष भएर पत्रकारिताको भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले जिल्लामा अन्य सुलभ जिल्लाभन्दा मुस्ताङमा पत्रकारिता पेसा निकै चुनौत्ीपूर्ण भएको बताउनुभयो ।

फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङ, फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले फोनिजले मुस्ताङमा कार्यक्रम गरेर नयाँ सुरुवात गरेको बताउनुभयो । कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोइरालाले पत्रकारिताको सम्बन्धमा सहजीकरण गर्नुभयो ।

Comments
Loading...