माछापुच्छ्रेको सेती नदीबाट निर्माण सामग्रीको अवैध उत्खनन्

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी बढेको छ ।

पोखरा महानगरपालिका वडा नं १९ र माछापुच्छ«े गाउँपालिका वडा नं ३ जोड्ने ढावस्थित सेती नदीको पुलदेखी माथि ढुँगा, गिटी, बालुवा लगायतका निर्माण सामग्रीको अवैध चोरी बढ्दा समेत गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले रोक्ने चासो दिएका छैनन् । स्थानीयपालिका तथा प्रशासन निरिह बन्दा दोहन गर्नेहरुको मनपरी बढेको हो ।

ढाप पुल भन्दा माथि सेती बगर ढाव खानीको ठेकेदारले माछापुच्छ्रे गाउ पालिका वडा नं ३ भित्र पर्ने संरक्षण क्षेत्र तथा जटायु संरक्षण हाता भित्रको ढुँगा तथा नदीजन्य सामग्रीको उत्खनन् गरेपछि स्थानीयले कारवाहीको माग गरेका छन् ।

जटायु संरक्षण क्षेत्र, दवाडी बगर सेती नदी किनार लगायतका विभिन्न घाटहरुबाट अवैध नदीजन्य सामग्रीको उत्खनन रोकिएको छैन ।

पोखरा महानगरले ढापपुल माथि वडा नं १९ को क्षेत्रमा नदीजन्य सामग्री उत्खननका लागि टेण्डर गरेको थियो । सो क्षेत्रमा उत्खननको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको स्थान भन्दा बाहिर वारिपट्टी समेत आएर अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेको हो ।

जटायु संरक्षण तथा गौरक्ष केन्द्र व्यवस्थापन समितिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई अवैध उत्खनन् रोक्न र नदीजन्य सामग्रीको चोरी निकासी गर्नका लागि माग गरेको छ । आज  स्थानीयले अवैध उत्खनन् गरी सामान लोड गरिरहेका ट्रक, ट्याक्टर तथा मजदुरहरुलाई चोरी गर्दागर्दै फेला पारेका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष केशवराज पोखरेलले आज अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय(ल्वाङ)लाई पत्र लेख्दै तुरुन्त अवैध उत्खनन रोक्न र उत्खनन्मा संलग्नहरुलाई कारवाहीको माग गर्नुभएको हो । माछापुच्छ्रेको सेती नदीस्थित विभिन्न घाटहरुमा दिउसो तथा रातको समयमा समेत नदीजन्य सामग्रीको अवैध दोहन केहीवर्षदेखी निरन्तर छ । स्थानीयले संरक्षणको माग गरी विभिन्न निकायमा ध्यानाकर्षण गराउँदा समेत सुनुवाई हुन सकेको छैन ।

Comments
Loading...