पोखरा महानगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड टप्स बोर्डिङलाई

हिमाली आवाज । पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि पोखरा—१० रामघाटमा अवस्थित टप्स बोर्डिङ स्कुलले हासिल गरेको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रङ्गशालामा भएको प्रतियोगितामा वै खेलहरुमा गरी सात स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो ।

टप्सले कुल १३ पदक हासिल गरेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।यसैगरी सैनिक आवासीय मावि पाँच स्वर्ण, चार रजत र ११ कास्यसहित २० जितेर द्धितीय स्थानमा रहन सफल भयो ।

शहीद स्मृति मावि पाँच स्वर्ण, चार रजत र चार कास्यसहित कुल ११ पदक जितेर तृतीय बनेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र÷छात्राका खेल भएका थिए । प्रतियोगितामा ३० वटा विद्यालयका एक हजार छ सयभन्दा बढी खेलाडी सहभागी थिए ।
प्रतियोगिताको समापनमा महानगर प्रमुख धनराज आचार्यले विद्यालयस्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्र अघि बढ्न नसक्ने बताउनुभयो ।
महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउने उहाँले बताउनुभयो । प्रमुख आचार्यले भन्नुभयो,“वर्षभर हुने खेलकुदको हामी क्यालेन्डर बनाउँछौं । त्यसले परिक्षामा पनि असर पर्दैन । कुन खेल कहिले हुन्छ भन्ने थाहा पाएर तयारी गर्न पनि सजिलो हुन्छ ।”
महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न समिति सक्रिय रहेको उल्लेख गर्नुभयो । प्रतियोगिता यही फागुन ७ गतेदेखी सञ्चालन भएको हो ।

Comments
Loading...