माओवादी घटकले पोखरामा मनाए जनयुद्ध दिवस

हिमाली आवाज । विसं २०५२ साल फागुन १ गते नेपालमा जनयुद्धको घोषणा भएको दिन पारेर आज देशभर २८ औँ जनयुद्ध दिवस मनाइएको छ । सरकारले यस वर्ष पहिलोपटक जनयुद्ध दिवसमा देशभर सार्वजनिक विदा समेत दिएको थियो ।

कास्कीमा पनि जनुयुद्ध दिवस विविधि कार्यक्रम गरी मनाएको छ । विशेष गरी नेकपा(माओवादी केन्द्र) पोखरा महानगर कमिटी र नेपाल समाजवादी पार्टी, नेकपा(बहमुत) लगायत माओवादी घटकले जनयुद्ध दिवस मनाए ।

शनिबार विहान नेकपा(माओवादी केन्द्र)को जिल्ला पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएकामा साँझ योङ्ग कम्युनिष्ट लिग, अखिल क्रान्तिकारी लगायतले पोखराको पृथ्वीचोकमा दीप प्रज्वलन गरेका छन् । ती दुवै कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले नेपालको अहिलेको परिर्वतनमा माओवादी जनयुद्धकै प्रमुख भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले जुन परिर्वतन भएको छ । यसमा जनयुद्ध र त्यस आन्दोलनका शहीद, बेपत्ता र जनमुक्ति सेनाको अहमं भूमिका छ । गणतन्त्रमाथि अहिले पनि चूनौती रहेकाले माओवादी घटकहरु एकतावद्ध हुनु आवश्यक छ ।”

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य राजकाजी गुरुङ(करण), केन्द्रीय सदस्यहरु दीपक कोइराला,गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, रामजी प्रसाद बराल, दुर्गा विक, कोमलनाथ बराल, झलकपाणि तिवारी, तेजकुमारी पौडेल, बखानसिँह गुरुङ, नेसपाका गण्डकीका अध्यक्ष किरण थापा, टीकाराम पौडेल लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

यसैगरी साँझ आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्वोदन गर्दै पार्टीका केन्द्रीय सदस्य दीपक कोइरालाले जनयुद्धले स्थापित गरेका मुद्धाहरुलाई अव कसैले पनि हरण गर्न नसक्ने र ती मुद्धाहरु संविधानमा लिपिवद्ध भएको बताउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य बखानसिँह गुरुङ, वाइसियल कास्की इन्चार्ज भोजराज पौडेल लगायत युवा विद्यार्थीहरुको सहभागिता थियो।

Comments
Loading...