गण्डकीका संचारमन्त्री थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता

हिमाली आवाज । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहनुभएका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गर्नुभएको हो ।

भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गर्नुभयो । स—परिवार सहित नेपाल आउनुभएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफु लालयित भएको बताउनुभयो । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग आफुले गर्ने प्रतिवद्धता उहाँको छ ।

मन्त्री थापासँगको भेटमा ओवरायले भन्नुभयो,‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ । म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ । नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो । प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग गरिनेछ ।’

मन्त्री थापाले सिनेमा मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मद्धत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयो । गण्डकी प्रदेश सिनेमा छायाँकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमा मार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास थापाको छ ।

‘सिनेमा छायाँकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो । नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु । यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरु बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ । नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको छ’, मन्त्री थापाले भन्नुभयो ।

Comments
Loading...