स्पेनको ‘बि डिभिजन’ क्लब र गण्डकी प्रदेशबीच पोखरामा मैत्रीपूर्ण फुटबल हुने

हिमाली आवाज । स्पेनको ‘बि डिभिजन’को क्लब मैत्रीपूर्ण फुटबल खेल्न पर्यटकीय सहर पोखरा आउने भएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल सङ्घको सहकार्यमा स्पेनको काथेरेन्यो फुटबल क्लब र गण्डकी प्रदेशको फुटबल टोलीकाबीच आगामी पुस १३ गते पोखरा रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

त्यसैगरी स्पेनको सो टोलीले पुस १४ गते काठमाडौँमा अर्को मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । स्पेनको सो क्लब मैत्रीपूर्ण खेलका लागि पहिलो पटक नेपाल आउन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विश्वकप खेलीसकेका स्पेनका पूर्व खेलाडी मिचेन, मानवेल सहितका खेलाडीहरुको सहभागिता टोलीमा रहेको छ । सो टोलीमा आठ जना पत्रकार सहित ५२ जना आउन लागेको हो ।

फाउण्डेसनका महासचिव एकराज गिरीले गौतम बुद्ध र सगरमाथा जोडेर आफूहरुले विदेशमा नेपालको नाम राख्ने विभिन्न अभियान जारी राख्दै आउने क्रममा उक्त फाउण्डेसन स्थापना गरेको बताउनुभयो ।

शान्तिका लागि फुटबल भन्ने अभियान नेपालबाट सुरु गरी यसलाई विश्वका धेरै मुलुकसम्म लैजाने लक्ष्य रहेको महासचिव गिरीले बताउनुभयो ।
नेपाली फुटबल टिमका पूर्व कप्तान तथा गण्डकी प्रदेशको टिमका समेत कप्तान अनिल गुरुङले फुटबलको उर्वरभूमिका रुपमा स्पेनका खेलाडीहरुसंग पोखरामा खेल्न पाउनु निकै खुशीको कुरा भएको बताउनुभयो ।

उहाँका अनुसार यस खेलले पोखराको प्रवद्र्धनमा सघाउ पुग्नेछ । राजेन्द्र तामाङको प्रमुख प्रशिक्षणमा गण्डकीको प्रशिक्षण सुरु भएको गुरुङले जानकारी दिनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पोखरा रंगशालामा निर्माण भएको पोखरा फुटवल स्टेडिएको भरपूर्ण रुपमा प्रयोग सहित त्यसको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । खेलाडी र खेलकुदको विकास हुने कुनै पनि कार्यक्रममा मञ्चले सहयोग गर्ने उहाँको भनाई थियो ।

Comments
Loading...