–कृष्ण दवाडी
हिमाली आवाज । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रवन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको छ ।
खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ । खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभुति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ ।
भोलीदेखी कात्तिक ३ गतेसम्म मुख्य गरी पोखरा केन्द्रीत भएर गण्डकी आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियिल गरी दस हजार हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरुलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गरी समयमै खबर गराउन निर्देशन समेत गरिएको प्रहरीले जनाएको छ ।
सबै खेलस्थल,उद्घाटन तथा समापन समारोह, रङ्गशालाको प्रवेशद्धार, खेलाडी बास बसेको होटल लगायतका स्थलहरुमा विशेष उपकरण सहितका सुरक्षाकर्मी परिचालन गर्ने गरी संयुक्त सुरक्षा योजना अनुसार सुरक्षा प्रवन्ध मिलाइएको नवौँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजक समेत रहनुभएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बताउनुभयो ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रंगशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिहरुको सवारीमा सुरक्षा प्रवन्ध गर्नेछ ।
प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखी समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार १०० जनपथ प्रहरी र २०० सय सशस्त्र गरी एक हजार ३०० प्रहरी परिचालन हुनेछन् ।
यस बाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रवन्ध मिलाइएको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्टाण्ट बाई’ तैथानीमा रहने र थप मद्धत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ ।्
“राष्ट्रिय खेलकुदको सुरक्षामा कुनै कमी नरहने गरी संयुक्त सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरेका छौँ ।”गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले भन्नुभयो,” खेलस्थलको र रङ्गशालाको सुरक्षा, भिभिआइपी सवारी,ट्राफिक व्यवस्थापन लगायतलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नेछौँ ।”
प्रहरीले ठाउँ ठाउँमा मेटल डिटेक्टर, सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । पोखरा बाहेक अन्यत्र खेल हुने बाहिरी जिल्लाहरुमा समेत जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर एउटा संयुक्त सुरक्षा योजना तयार भएकाले सोही अनुसार सुरक्षा व्यवस्था गरिने जनाइएको छ ।
राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आकलन प्रहरीको छ ।
“औपचारिक उद्घाटन अघिनै केही खेलहरु अहिले चलिरहेको छ, हरेक खेल भइरहेको ठाउँमा नेपाल प्रहरीको उपस्थिति छ । अफिसरको कमाण्डमा रहने सुरक्षा टोलीले खेलस्थलमा सुरक्षा दिएको छ ।” सुरक्षा उपसमितिका संयोजक समेत रहनुभएका प्रहरी प्रमुख जोशीले भन्नुभयो ।
नवौँको सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशी सहित सशस्त्र प्रहरीको एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाको कर्णेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी रहेका छन् ।
नवौँको समग्र सुरक्षा कमाण्ड प्रदेश प्रहरी प्रमुख जोशीले गर्ने भएपनि फिल्डमा खटिएर हेर्न र समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज पन्त तोकिनुभएको छ । उहाँलेनै अन्य सुरक्षा निकायसँग समन्वय र रिर्पोटिङ गर्नुहुनेछ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं सुरक्षा उपसमितिका सचिव लक्ष्मण योगीले सुरक्षाका लागि रङ्गशाला र अन्य खेलस्थलहरुको प्रवेशद्धारहरुमा सिसिटिभी जडान गरिएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्बाट नीजि सुरक्षा गार्ड, स्वयमंसेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
Comments