सगरमाथा निकेतनका १२ वर्षमुनिका बालबालिकालाई विद्यालयमै कोरोना खोप

हिमाली आवाज । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित सगरमाथा निकेतन विद्यालयका बालबालिकाहरुलाई आज विद्यालयमै कोरोना विरुद्धको खोप दिइएको छ ।

पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्ध ‘फाइजर बायोएनटेक’ खोप दिने राष्ट्रिय कार्यक्रम अनुसार सो विद्यालयका बालक १८९ र बालिका १३१ गरी ३२० जनालार्ई खोप लगाइएको विद्यालयका शिक्षिका टीकामाया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले तयार गरेको कक्षागत सूची र नामावली अनुसार खोप दिइएको हो ।

उहाँले भन्नुभयो,“कोरोना खोप अभियानको लक्षित समूह पाँच देखी १२ वर्ष मुनिका बालबालिकाई सहज रुपमा विद्यालयमै खोप दिएका छौँ । खोप लगाएका कसैलाई पनि कुनै समस्या छैन ।” बालबालिकाको सहजताका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरी तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट खोप दिइएको विद्यालयले जनाएको छ ।

सरकारले गत असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिने कार्यक्रम अघि सारेको छ । कास्कीका अन्य विद्यालयहरुमा पनि खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैगरी खोप कार्यक्रमको दोस्रो चरण अन्तर्गत ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

Comments
Loading...