हिमाली आवाज । पशु चिकित्सा र स्वास्थका क्षेत्रमा भएका अनुसन्धान तथा खोजहरुको प्रस्तुती र नेपालको भेटेरिनरी क्षेत्रका विषयमा छलफलका लागि पोखरामा आजदेखी १४ औँ संस्करणको राष्ट्रिय भेटेरिनरी सम्मेलन सुरु भएको छ ।
नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गरेको सम्मेनलको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।
सम्मेलनमा पशु चिकित्सा र स्वास्थ्य, पशुपन्क्षी तथा मत्स्य उत्पादन र व्यवस्थापन, जलवायु परिर्वतन र पशुपालन,पशुपालन क्षेत्रको आर्थिक तथा सामाजिक प्रभावमा छलफल हुनेछ ।
पशुपन्क्षी तथा मत्स्य पालनमा नीतिगत पैरवी लगायतका क्षेत्रहरुमा भएका अनुसन्धान तथा खोजहरुको प्रस्तुती तथा छलफलका लागि सम्मेलनको आयोजना गरिएको नेपाल भेटेरिनरी एशोसिएनका केन्द्रीय अध्यक्ष डा शितलकाजी श्रेष्ठले बताउनुभयो ।
पशु चिकित्सा र स्वास्थ्यका क्षेत्रमा भेटेरियनहरुको योगदानका कारण दूध, मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको उहाँले बताउनुभयो । श्रेष्ठले हालै नेपाल सरकारले देशका विभिन्न ३०० स्थानीय तहमा पशु चिकित्सक भर्ना गरेर कृषकलाई भेटेरिनरी सेवा पु¥याउने निर्णय गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।
नेपाल सरकारले पशुपन्छीसँग सम्वन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको छ । सन् २०३० सम्ममा रेविजका साथै खोरेत,पिपिआर लगायत रोग उन्मूलन गर्ने सरकारको प्रतिवद्धता छ । सम्मेलनमा यी प्रतिवद्धताको कार्यान्वयन अवस्थाको समीक्षा र सुधार गर्नुपर्ने विषयमा समेत छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा ६९ वटा वैज्ञानिक कार्यपत्रहरुमा विशेष छलफल हुनेछ । सम्मेलनमा पशु विज्ञान र मत्स्य क्षेत्रमा क्रियाशील बैज्ञानिक, पशुचिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ताहरु र उद्यमी कृषकहरु गरी ४०० जनाको सहभागिता रहेको छ ।
असार ४ गतेसम्म सञ्चालन हुने सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेश लगायत सार्क राष्ट्रका भेटेरिनरी एशोसिएसनका प्रतिनिधिहरु समेत सहभागी छन् ।सम्मेलनले नेपाल र नेपालको भेटेरिनरी क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सहयोग पुग्ने विश्वास आयोजकको छ ।
कार्यक्रममा कृषिमन्त्री बुढाले उत्पादनमा आधारित अर्थतन्त्रको विकासका लागि पशुपन्क्षी उत्पादनलाई वृद्धि गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“देशको मजवुत अर्थतन्त्रका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको मुख्य दायित्व हो, यसमा नेपालका भेटेरिनरी क्षेत्रमा क्रियाशील व्यक्तिहरुको ठूलो योगदान रहन्छ ।”
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय रामपुरका भेटेरिनरी संकायका डिन डा होमबहादुर बस्नेत, पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव डा सम्झना कुमारी काफ्ले, प्रदेश कृषि मन्त्रालयका सचिव डा हरिबहादुर केसी, नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा बज्र किशोर प्रसाद शाह, एशोसिएसनका उपाध्यक्ष डा कृष्ण काफ्ले, महासचिव डा अशेष भट्टराई, एशोसिएसनका सदस्य डा प्रेरणा सेढाई लगायतले पशु चिकित्सा र पेशागत हक हितका बारेमा भनाई राख्नुभयो ।