हेमजा आलु महोत्सव सकियो,चार करोडको कारोबार

हिमाली आवाज । पोखराको हेमजामा ४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ।
गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिनुभयो । त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।

महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल आयोजक समिति, मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालको संयुक्त आयोजना रक्तदान आयोजना गरिएकोमा कुल १ सय १ युनिट रगत संकलन भयो।उक्त कार्यक्रम क्षत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो।

त्यस अवसरमा पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, मनिप्लान्ट वचतका अध्यक्ष प्रेमबहादुर कार्की, व्यवस्थापक शिवराम थापा, लायन्स क्लवका जगत पौडेल र हरिप्रसाद शर्मा, प्रादेशिक रक्तसंचारको तर्फबाट अर्जुन ज्ञवाली लगायतले धारणा राख्दै रक्तदानको महत्वमाथि प्रकाश पार्नुभयो ।

बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको बताउनुभयो । पोखरा महानगरले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्रमुख गुरुङले पछिल्लोपटक हेमजा कृषि पर्यटनको हव बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाएको स्पष्ट पार्दै आर्थिक चलायमान्का लागि मेला महोत्सव गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
पोखरा २५ का कार्यवहाक अध्यक्ष सुवाश भण्डारीले आलु महोत्सव समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण महोत्सव भएको चर्चा गर्दै महोत्सव मार्फत कृषकलाई हौसला मिलेको बताउनुभयो । कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि वडा सचेत रहेको सुनाउँदै पछिल्लो समय हेमजा महोत्सवमय बन्दै गइरहेको पनि औंल्याउनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले आफुले आलु महोत्सवलाई विगतदेखि नै नजिकबाट हेरीरहेको स्मरण गर्दै अव नेपालमा कृषि क्षेत्रको पुनःसंरचना गरिनुपर्ने बताउनुभयो ।उहाँले नेपालको कृषि अधोगतितर्फ धकेलिनु दुःखद् भएको स्पष्ट पार्दै कृषि पेशाबाट मात्रै नेपाल समृद्धिको मार्गमा अगाडि बढ्न सक्ने धारणा राख्नुभयो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा.कुमार खड्काले मेला महोत्सव सम्पन्न गर्न चुनौतीपूर्ण रहेको सुनाउँदै आलु महोत्सवका संस्थापक प्रति आभार व्यक्त गर्नुभयो ।

आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने जनाउनुभयो ।

महोत्सव अन्र्तगत भएको रत्यौली गीत प्रतियोगितामा कमलजौंसी आमा समूह प्रथम, अभियान आमा समूह द्वितीय, सिर्जनशील आमा समूह तृतीय तथा हेमजा आमा समूह र तीव्रेकोट आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु.२० हजार, १५ हजार, १० हजार साथै ५ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

त्यस्तै देउराली आमा समूह उत्कृष्ट भेषभुषा, जगेर्ना सुन्दुरपुरी आमा समूह उत्कृष्ट नृत्य साथै राधाकृष्ण आमा समूह मौलिक गायन प्रस्तुतितर्फ उत्कृष्ट हुँदै पुरस्कृत भए ।

त्यसैगरी कृषि झाँकीतर्फ देवीस्थान भजन समूह पहिलो, नेवाः खल हेमजा दोस्रो, सिर्जनशील आमा समूह सुईखेत तेस्रो साथै ओम शान्ति, लक्ष्मी आमा समूह र इन्द्रेणी आमा समूह क्रमश सान्त्वना हुन सफल भएको महोत्सवका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।

झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार समान २ हजार प्रदान गरिएको छ।
महोत्सबमा बुधबार कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, सरला पाण्डे, ज्योति लोहोनी, लक्ष्मण श्री र परशुराम अधिकारीका प्रस्तति रहे।
यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान गरिएको थियो।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य धना तिम्सिनाले स्वागत तथा मूल आयोजक समितिका महासचिव थापाले कार्यक्रम संचालन गर्नुभयो ।

Comments
Loading...