रुपा गाउँपालिकाले सबै पालिकावासीको स्वास्थ्य विमा गरिदिने

हिमाली आवाज । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य विमा गरिदिने भएको छ ।
रुपामा कूल तीन हजार पाँच सय घरधूरी रहेकामा हालसम्म पाँच सय परिवारको विमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारको बिमा गर्दा लाग्ने रु तीन हजार पाँच सय को पचास प्रतिशत गाउँपालिकाले व्यर्होने छ ।बिमाको लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको ओझाले बताउनुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्य उपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य विमामार्फत नागरिकको स्वास्थ्य उपचार सेवामा पहुँच वृद्धि गर्ने गरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।”

यसैगरी गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम गरिएको हो ।

पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।

रुपा अस्पतालमा हाल दुई जना चिकित्सक सहित २८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवि बरालले जानकारी दिनुभयो । अस्पतालमा आगामी वर्षदेखि दन्त उपचार सेवा विस्तार गर्ने योजना रहेको छ । सो अस्पताल सञ्चालनका लागि पालिकाले वार्षिक रुपमा रु ५० लाख खर्च गर्दै आएको बरालले बताउनुभयो ।

रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिन बाहेक ओपिडी सेवा, निशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिनुभयो ।

Comments
Loading...