पर्यटन राजधानी पोखरामा नयाँवर्षको भव्य स्वागत

हिमाली आवाज ।देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को भव्य स्वागत गरिएको छ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले भव्य रुपमा नयाँवर्षको स्वागत गरेका हुन् । नयाँवर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलहरुमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनास सहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुँइचो रहेको छ ।

नयाँवर्षको स्वागतका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । होटल संघ पोखराको आयोजनामा भइरहेको फेवा नव वर्ष महोत्सवका कारणले समेत यहाँका पर्यटकीय स्थलहरुमा पर्यटक आगमन बढाएको छ ।

आतशबाजी सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँवर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।नेपाली नयाँवर्षलाई धुमधामका साथ मनाउने उद्धेश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको उहाँले बताउनुभयो ।

नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किमी सडकमा नव वर्ष महोत्सव आयोजना गरिएको र महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँवर्षलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष सुवेदीले लेकसाइडका होटलहरुमा यतिबेला अकुपेन्सी ८० प्रतिशत पुगेको बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो,“देशको पर्यटकीय राजधानी सहर पोखरामा भव्य रुपमा नेपाली नयाँवर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले नयाँवर्षको खुशी साट्नुभएको छ । नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा हो भन्ने कुरा स्थापित भएको छ । ”
नयाँवर्ष तथा विभिन्न विदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

नयाँवर्षको स्वागतका लागि राति अवेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए । लेकसाइडका सबै जसो प्रमुख चोकहरुमा पञ्चेबाजा, भजन, रत्यौली, कन्सर्ट तथा गीत संगीत प्रस्तुत गरिएको थियो । नयाँवर्ष मनाउनका लागि पोखरामा केहीदिन देखीनै पर्यटकको बाक्लो चहलपहल बढेको होटल संघले जनाएको छ ।

यही चैत ३० गतेदेखी सुरु नव वर्ष महोत्सव आज सकिदै छ । नेपाली नयाँवर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव गरिएको हो ।महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन,सांस्कृतिक झाँकीका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौड लगायत रहेका थिए ।

नयाँवर्षसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलहरुमा समेत पर्यटक आगमन बढेको छ । पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली लगायतका धार्मिकस्थलहरुमा विहानदेखीनै भक्तजनहरुको घुँइचो लागेको छ ।विन्ध्यवासिनी मन्दिरमा पूजाआजाका लागि विहान ४ बजेदेखीनै भक्तजनहरुको बाक्लो लाइन लागेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...