नेपाली नयाँवर्षलाई स्वागत गर्न फेवाताल किनारमा नववर्ष महोत्सव सुरु

हिमाली आवाज ।देशको पर्यटकीय राजधानी पोखराको फेवाताल किनार(लेकसाइडड) क्षेत्रमा आजदेखी २० औँ संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ ।होटल संघ नेपाल पोखराको आयोजनामा पर्यटन, संस्कृति र खानाको नारा सहित सुरु भएको महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली नयाँवर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव गरिएको हो ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गर्नुभयो । त्यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका ¥याली सभास्थलमा पुगेका थिए ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव खहरे र ड्यामसाइडको तीन किमी सडकमा सञ्चालन हुनेछ । पञ्चैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ ।
महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने बताउनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उहाँको भनाई छ ।

अध्यक्ष सुवेदीले भन्नुभयो,“नेपालका मुख्य सहरमा अंग्रेजी नयाँवर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँवर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सव गरिएको छ । पर्यटनको राजधानीमा भएको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छौँ ।”
महानगर प्रमुख आचार्यले पोखरा ‘नेचर’, ‘कल्चर’ र ‘एड्भेञ्चर’ का हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताउनुभयो ।

पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको र पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउनुभयो । प्रमुख आचार्यले पोखरालाई सडक तथा हवाई सञ्चालबाट छिमेकी मुलुकहरुसँग जोड्ने काम भएको बताउनुभयो ।होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताउनुभयो ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् ।

संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछन् ।

Comments
Loading...