‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट:डिफेण्डिङ च्याम्पियन मधेश कर्णालीसँग पराजित

हिमाली आवाज । पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मधेश प्रदेश कर्णाली एकेडेमीसँग पराजित भएको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको सातौँ दिन समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो ।

प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो । जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा छ विकेट गुमाउँदै १३० रनमा समेटियो ।

मधेशका लागि दीपेश दासले सर्वाधिक ४५ रनको योगदान दिएपनि जित दिलाउन भने सकेनन् । अभिषेक कार्की २२ रनमा अविजित रहे । कर्णालीका लागि सुवास भण्डारी र दीपेन्द्र यादवले समान दुई÷दुई, कृष्ण कार्कीले एक र अरुण ऐरिले एक विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको कर्णाली एकेडेमीले १७ ओभरमा एक सय ४५ रन बनाउदै अलआउट हुन पुगेको थियो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी राज प्रसाद शाहले १६ रन बनाए ।

मधेशका लागि रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । अभिषेक कार्कीले तीन तथा विशाल पटेलले दुई विकेट लिए ।
यसैगरी मौसमकै कारण दोस्रो खेल रोकिदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डीएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डीएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा पाँच विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । ओपनर ओपनर सुबोध ऐरी ४० रन बनाउँदै बाहिरिए । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । मौसमका कारण ओभर घटाइएको खेलमा जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको लुम्बिनीले ११ ओभरमा आठ विकेट गुमाएर एक सय सात रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि रन्जित चौधरी सर्वाधिक ३६ रनको अविजित पारी खेले । हिमालय फे्रन्ड्सका लागि सुशील रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान दुई÷दुई विकेट लिदाँ दीपक रोकायाले एक विकेट लिएका थिए ।

यही चैत २३ गतेदेखी सुरु प्रतियोगताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...