‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट:गण्डकी र हिमालयनको लगातार दोस्रो जित

हिमाली आवाज । पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को आजको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले विजयी भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा पाँचौ दिनको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको हो ।
त्यसैगरी हिमालयन क्रिकेट एकेडेमीले समेत चितवन क्रिकेट क्लबलाई छ विकेटले पराजित गर्न सफल भयो । गण्डकी र हिमालयन यी दुबै टोलीको यो लगातार दोस्रो जित हो ।
ग्रेट हिमालयसँगको खेलमा जितका लागि एक सय तीन रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले ।

अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८ ओभरको चौथो बलमा एक सय दुई रन बनाउँदा ‘अल आउट’ भएको थियो ।
गण्डकीका लागि कृष्ण पौडेलले सर्वाधिक चार विकेट लिए । अमृत गुरुङले तीन तथा नारायण जोशीले दुई विकेट तथा सुदीप अर्यालले एक विकेट लिए ।आजनै भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले चितवन क्रिकेट क्लबमाथि छ विकेटको जित हात पारेको छ ।

एक सय १९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२ ओभरको चौथो बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । चितवनका लागि दीपेश श्रेष्ठले दुई तथा किरण गुरुङ र विशाल खत्रीले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८ ओभरको पहिलो बलमा एक सय १८ रनको योगफल बनाउँदै अलआउट हुन पुगेको थियो । यससँगै चितवन लगातार दोस्रो पटक पराजित भयो ।

समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनको समान चार अङ्क रहेको छ । सेमिफाइनल प्रवेशका लागि भोलि यी दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बीच प्रतिष्ठाको खेल हुनेछ ।
यही चैत २३ गतेदेखी सुरु भएको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरेका छन् । विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...