पोखरामा सुविधासम्पन्न ‘डियर वाक स्कुल’ सञ्चालनमा आउँदै

हिमाली आवाज । डियर वाक एजुकेशन ग्रुपको लगानीमा पोखरामा ‘डियर वाक पोखरा स्कुल’ यसै शैक्षिकसत्रदेखी सञ्चालनमा आउने भएको छ ।
पोखरा महानगरपालिका–१० रामघाटमा रहेको साविकको मेट्रोपोलिटन एकेडेमी स्कुललाई डियर वाकले आफ्नो स्वामित्वमा लिएर सुविधासम्पन्न  विद्यालय सञ्चालनमा ल्याउन लागेको डियर वाक एजुकेशन ग्रुपका अध्यक्ष हितेष कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी शैक्षिकसत्र २०८२ देखी विद्यालयमा नर्सरीदेखी कक्षा १० सम्म अध्यापन हुनेछ । आगामी वैशाख १५ गतेदेखी कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

डियर वाकले बजारको माग अनुसारको शिक्षा प्रदान गर्दै बच्चाहरुलाई भविष्यमा उसको काम गर्ने क्षेत्रसँग जोड्ने शिक्षा प्रदान गर्ने लक्ष्य राखेको अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ हामी कर्पोरेटमा के चाहिएको छ, त्यो शिक्षा अहिले विद्यार्थीलाई दिन्छौँ । अहिलेको शिक्षा बच्चाको भोलीको भविष्यमा वर्क प्लेससँग जोड्ने हुनुपर्दछ, त्यसका लागि अध्ययापन गर्नेछौँ ।”

डियर वाक सुरुआतमा अमेरिकामा स्थापना भएको सफ्टवेयर कम्पनी हो । नेपालमा यसले सन् २०११ मा सूचना प्रविधि सम्बन्धी शिक्षा दिने गरी सिफलमा कलेज सञ्चालनमा ल्याएको थियो । डियर वाक सफ्टवेयर तथा आइटीको क्षेत्रमा देशमै अग्रणी स्थानमा आउँछ ।

“कर्पोरेट क्षेत्रमा स्रोतको अभाव भएपछि आफ्नै कलेज स्थापना गरेका हौँ । आइटीको रिसोर्स उत्पादनका लागि कलेज खोलिएको, त्यसपछि काठमाडौँ र धादिङमा स्कुल सञ्चालनमा ल्याएका छौँ, पोखरामा हाम्रो यो तेस्रो स्कुल हो । ” अध्यक्ष कार्कीले हिमाली आवाजसँग भन्नुभयो ।

डियरवाक धादिङ स्कुलका प्रिन्सिपल निर्मल पौडेलले रिड, राइट र कोड डियर वाको मूल मन्त्र रहेको बताउनुभयो ।“बच्चाालाई हामीले पढ्नै सिकाएका रहेनछौँ । हामीले पढाएका पाठ्यपुस्तक केवल परिक्षाका लागि मात्र रहेछ, सबैलाई ग्रेड चाहिएको छ तर ग्रेड ल्याएर के गर्ने हो भनेर अभिभावक र स्कुल स्पष्ट छैन । हामीले बच्चाको जीवन र भविष्यलाई हेरेर अध्यापन गराउने गरेका छौँ ।” पौडेलले भन्नुभयो ।

Comments
Loading...