हिमाली आवाज । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा शनिबारदेखी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी –२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्न सफल भयो ।
खेलमा टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभर खेल्दै एक सय ६२ रन बनाएको थियो । पोखरा महानगरपालिका भने पूरै ओभर खेल्दै आठ विकेट गुमाएर एक सय ३८ रन मात्र बनाउन सक्यो ।
स्याङजाका अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुई÷दुई विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले एक÷एक विकेट लिए ।
यसैगरी दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । एक सय ५२ रनको विजयी लक्ष्य पाएको हेटौडा २० ओभरमा एक ४० रनमै ‘अलआउट’ हुन पुग्यो ।
हेटौडाका लागि सुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।
टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।
