तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाइने

हिमाली आवाज । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा पर्यटकीय गतिविधि बढाउन र यहाँका स्थानीयवासीको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यहाँ आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो,“गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकास योजना अगाडि बढाएका छौँ । यसमा सङ्घीय, प्रदेश, स्थानीय तहको सरकारको साझेदारी, आमजनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरेका छौँ ।”

अध्यक्ष चुमानले छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल टावर नभएका जस्ता समस्या क्रमशः निराकरण हुँदै जाने र सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताउनुभयो । यस्तै, खानेपानीको बजेट स्रोत सुनिश्चित भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । अध्यक्ष चुमानले भन्नुभयो, “वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन डिपिआर भइरहेको छ । त्यो काम सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” खानेपानीका लागि करिब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।

Comments
Loading...