हिमाली आवाज । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्रले विभिन्न सिपमुलक तालिम सुरु गरेको छ ।
केन्द्रले पोखरामा कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको हो ।
तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले व्यवसायिक सीप विकासलाई विशेष प्राथमिकता दिँदै आएको भनाई उहाँको भनाई छ । मन्त्री थापाले प्रदेश सरकार स्वरोजगारमुखी कार्यक्रमहरू ल्याएर युवालाई सीपयुक्त बनाउने योजनामा रहेको जानकारी दिनुभयो ।

तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले व्यावसायिक सीप विकास तालिम केन्द्र पोखराले निशुल्क रुपमा तालिमहरु उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
तालिमहरू विशेष गरी युवाहरू, बेरोजगार, महिला, दलित, विपन्न तथा पछाडि परेका समुदायका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएका छन्। तालिम पश्चात सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूको रोजगार र उद्यमशीलतामा योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै तालिम केन्द्रका सूचना अधिकारी विनोद रेग्मीले १९ वटा तालिमको सूचना निकालेकोमा आजबाट ९ वटा तालिम संचालनमा आएको दिनुभयो । उहाँले ५ सय भन्दा माथि आवेदन परेकोमा १ सय ८० जना अहिले छनोट भएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश ढुुंगाना, तालिम केन्द्रका प्रतिनिधिहरू, प्रशिक्षक तथा सहभागीहरूको उपस्थिति थियो। सहभागीहरूले यस्ता तालिमहरूले भविष्यमा स्वरोजगार बन्ने अवसर दिने बताएका छन्।