हिमाली आवाज । पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा अनेरास्वियुका विष्णु पोखरेलेको प्यानलनै विजयी भएको छ ।
यही चैत १० गते सम्पन्न स्ववियु निर्वाचनको आज विहान सम्पन्न मतगणनामा एमाले निकट अनेरास्ववियुका पोखरेल दोब्बर बढी मतान्तर सहित अध्यक्षमा विजयी हुनुभयो ।

पोखरेलले एक हजार एक सय पाँच मत प्राप्त गर्दा निकटतम प्रत्याशी नेपाल विद्यार्थी संघका सुशिल न्यौपानेले पाँच सय तीन मत पाउनुभयो ।
स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले चार सय ६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । यसैगरी अखिल क्रान्तिकारीका नवीन अधिकारीले दुई सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले एक सय ९६ र अखिल छैठौंका मिलन सुनारले २८ मत पाउनुभयो ।
यसैगरी सचिवमा अनेरास्ववियुका विराट दुवाडी एक हजार चार सय १३ मतसहित विजयी हुनुभयो । नेविसंघका विवेक भट्टराईले छ सय २८ र अखिल क्रान्तिकारीका मिराज थापा मगरले दुई सय ९३ मत पाउनुभयो ।
कोषाध्यक्षमा सन्दिका गुरूङ एक हजार तीन सय चार मत सहित विजयी हुँदा नेविसंघका अमिषा यादवले छ सय ४७ मत ल्याउनुभयो । पृथ्वीनारायण क्याम्पसमा एमाले निकटको अनेरास्ववियुले निर्वाचन जित्दै आएको छ । कूल नौ हजार दुई सय ७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा दुई हजार नौ सय ८७ विद्यार्थीले मतदान गरेका थिए ।