पोखरामा निर्माण हुने भयो भव्य कोसेली घरको शिलान्यास

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण हुने भएको छ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

परियोजनामा कोइकाले नौ दशमलव आठ मिलीयन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । आगामी एक वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेशनल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी काठमाडौँले पाएको छ ।

परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले योगदान गर्नेछ ।

“फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने विश्वास लिएका छौँ ।” आचार्यले भन्नुभयो ।
विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि समेत हरित रोजगारी सृजना महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
“यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर पनि आर्जन हुनेछ । परियोजनाको पहिलो चरणमा तीन हजार बढी प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सृजना गर्नेछ ।” प्रमुख आचार्यले भन्नुभयो ।

कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताउनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाई प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो ।

Comments
Loading...