पोखरामा चार सय बढीलार्ई हरित रोजगारीका लागि सीप प्रदान

हिमाली आवाज । पोखरामा फोहरलाई व्यवसायिक अवसरमा बदल्ने सीप प्रदान गरिएको छ । यस तालिमबाट पोखरा महानगरका ३३ वडाका चार सय भन्दा बढी व्यक्तिहरु लाभान्वित भएका छन् ।

‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजना(जिसिआरयू) अन्तर्गत एक साताका अवधिमा यस प्रकारको सीपमुलक तालिम प्रदान गरिएको आयोजक संस्था दीर्घायु नेपालका सचिव अनिल लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिमले दिगो फोहर व्यवस्थापन भएर हरित रोजगारी सिर्जना हुने र घरेलु आम्दानी वृद्धिसँगै प्रभावकारी फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।

तालिममा सहभागीहरुलाई फोहरका प्रकार,समुदायको भूमिका, फोहर व्यवस्थापन, वर्गीकरण, जिम्मेवार उपभोग र थ्रीआर सिद्धान्त (रिडियुस, रेस्क्यु र रिसाइकलविन) तथा व्यवसायिक योजना विकास जस्ता विषयमा प्रशिक्षित गरिएको लामिछानेले बताउनुभयो ।

परियोजनाले सन् २०२९ भित्र पोखरामा छ सय भन्दा बढी हरित रोजगारी सिर्जना गर्दै दिगो फोहर व्यवस्थापन अभ्यासको स्थापना गर्ने लक्ष्य राखेको छ । परियोजनाले पोखराका एक सय ३६ चयन गरिएका टोल विकास संस्थाहरुमा सचेतना अभियान समेत सुरु गरेको छ ।
अभियान दिगो फोहर व्यवस्थापन, रिसाइक्लिङ र अपसाइक्लिङमा केन्द्रित गरिएको र नियमित रूपमा फोहर वर्गीकरणलाई व्यवहारमा ल्याउन टोल विकास अन्तर्गतका घरधुरीहरूलाई फोहर वर्गीकरण किट वितरण गरिएको बताइन्छ ।

परियोजनाको अवधिभर पोखरामा ३० वटा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ उद्यम स्थापना गर्ने योजना रहेकोे परियोजनाले जनाएको छ । यसका लागि एक सय ३६ वटा रिसाइक्लिङ र अपसाइक्लिङ समूह गठन गरेर फोहर संकलन, वर्गीकरण, सफाइ, प्रसोधन वा आफ्नै रिसाइक्लिङ तथा अपसाइक्लिङ उत्पादनहरू विकास गरेर मूल्य श्रृंखलामा योगदान दिनेछन्।

परियोजनाले एक हजार तीन सय जनालाई दिगो फोहर व्यवस्थापन, रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी आवश्यक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ । तालिमका लागि दीर्घायु नेपाल सहित सुखावती च्यारिटी स्टोर, जिडी ल्याब र डोको रिसाइक्लर्ससँग साझेदारी गरी सीप विकास तालिम सञ्चालन गरिरहेको बताइन्छ ।

प्रारम्भिक तालिमपछि २५ जना सहभागीहरू छनोट गरिने र उनीहरुलाई विशेष फोहर वर्गहरूमा केन्द्रित उन्नत तालिम प्रदान गरिने बताइन्छ । तेस्रो चरणको तालिम पूरा भएपछि सुरुमा एक समूहलाई र क्रमश अन्य चार समूहलाईस्टार्टअप सहायताका लागि उपकरणहरु प्रदान गरिने परियोजनाले जनाएको छ ।
फोहरलाई मूल्यवान स्रोतमा बदल्ने सीपद्वारा समुदायलाई सशक्त पार्दै परियोजनाले वातावरणीय चुनौतीहरू समाधान गर्नुका साथै पोखराको आर्थिक वृद्धिमा योगदान दिने र दिगो जीविकोपार्जन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

हरित रोजगारी सिर्जना परियोजनालाई कोरिया इन्टरनेशनल कोअप्रेसन एजेन्सी(कोइका)ले वित्तीय सहायता प्रदान गरेको छ भने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) ले पोखरा महानगरपालिकासँगको सहकार्यमा कार्यान्वयन गरिरहेको हो ।

Comments
Loading...