हिमाली आवाज ।पोखरामा सञ्चालन भएको २४ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।
नेपालमा पहिलो पटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली पहिलो सहभागितामानै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएका दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । पुलिसले दोस्रो हाफमा उपहार गोल पायो ।
खेलको ४२ औँ मिनेटमा उज्वेकिस्तानका कप्तान जाकोन्गिर आक्मादोभले गोल गर्दै टोलीलाई अग्रता बनाए । उनले फ्रिकिकमा गोल गर्न सफल भएका हुन् । खेलको ५९ औँ मिनेटमा असिलवेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाएकामा ६६ औँ मिनेटमा साप्कातजोन सातारोभले गोल गर्दै टोलीको विजय सुनिश्चित गरे ।खेलको ७४ औँ मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भएपछि पुलिसको एक गोल भएको थियो ।

प्रतियोगितामा च्याम्पियन बनेको ब्ल्याक बुल्सले नगद रु १२ लाख १ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्लबले रु छ लाख एक हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पायो ।
एमभिपी अवार्ड साभकातजोन सात्तोरोभ (ब्ल्याक बुल्स एफसी) । उनी सर्वाधिक गोलकर्ता समेत बनेका थिए । उनले टेलजी स्कुटर प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ, उत्कृष्ट डिफेण्डर, अलिजोन अलिजोनोभ, उत्कृष्ट मिडफिल्डर पुलिसका राम वाजी, फरवार्ड ब्ल्याक बुल्सका अजिजवेक खुर्सोनबोएभ र प्रशिक्षक अब्दुलअजिज निशोनबाएभ घोषित हुँदैन जनही नगद रु २५ हजार र मेडल पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको च्याम्पियन टोली र विधातगत रुपमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उपसभामुख विनाकुमारी थापा, मुख्य प्रायोजकका तर्फबाट हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसी, निर्देशक किरण केसी लगायतले पुरस्कार वितरण गर्नुभयो ।
गत माघ २२ गतेदेखी सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका चर्चित नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।