–कृष्ण दवाडी
हिमाली आवाज । राजधानी बाहिरको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता हो आहा ! रारा पोखरा गोल्डकप । विसं २०५८ मा पहिलोपटक क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता अहिले २४ औँ संस्करणसम्म आइपुगेको छ ।
सुरुआतदेखी हालसम्म आउँदा थुप्रै प्रतिकुलतामा समेत प्रतियोगिता कुनैपनि वर्षमा रोकिएन । सबै खालका अप्ठ्यारहरुहरुसँग जुध्दै आएकाले समेत आहा रारा गोल्डकप फुटबलप्रेमीहरुकामाझ लोकप्रिय छ ।
यस वर्षको २४ औँ संस्करणको फाइनलमा शनिबार भिड्दैछन् विभागीय नेपाल पुलिस क्लब र विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी ।पोखरा रंगशालाको १६ हजार दर्शक अट्ने फुटबल रंगशालामा उत्रिदा दुबै टोली खेल जितेर इतिहास बनाउने दाउमा हुनेछन् ।
आहा राराको सर्वाधिक सफल टोली हो पुलिस । पुलिसले क्याराभान गोल्डकपदेखी हालसम्म छ पटक उपाधि चुमेको छ । पुलिस सातौँ पटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ ।
पुलिसले विसं २०५८ मा क्याराभान गोल्डकप जितेको थियो । त्यसपछि विसं विसं २०५९,विसं २०६४,विसं २०६५,विसं २०६६ र विसं २०७४ मा आहा राराको उपाधि उचाल्यो ।
पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि पहिलो सहभागितामानै उपाधि जितेर घर फर्कन चाहन्छ । आफ्ना दुई खेल फराकिलो अन्तरले जितेकाले टोली फाइनलका लागि उत्साहित छ ।
नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली शारीरिक र टेक्निकल दुबै हिसावले उत्कृष्ट छ । यसअघिका दुई खेलमा उज्वेकिस्तानी टोलीले कुनै गोल नखाईकन सात गोल गरेको छ ।
पाहुना टोलीलाई रोक्नुपर्ने चूनौती पुलिससामू छ । पुलिसको टिमले समेत यस पटक अहिलेसम्म गोल खाएको छैन ।फाइनलका लागि दुबै टोली एक÷अर्काप्रति सचेत छन् । दुबैले एकअर्काको खेललाई सम्मान समेत गरेका छन् । फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल रोचक हुने बताए । उत्कृष्ट फुटबल खेलेर फाइनल खेल रोमाञ्चक हुने उनीहरुको भनाई छ । दुबैको दावी उपाधि चुम्ने रहेको छ ।
नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि खेलाडीहरु मानसिक रुपमा तयार रहेको बताउनुभयो । उहाँले टोली उपाधि जितेर इतिहास बनाउने बताउनुभयो ।“पुलिस टिम ऐतिहासिक छ ,भोली हामीले अर्को इतिहास कोर्न बाँकी छ । उपाधि जित्छौँ भन्नेमा मानसिक रुपमा तयार छौँ ।” प्रशिक्षक घिमिरेले भन्नुभयो ।

विपक्षी टोलीको खेल्ने शैली राम्रो रहेको र शारीरिक रुपमा समेत राम्रो रहेको बताउँदै प्रशिक्षक घिमिरेले जारी प्रतियोगितामा तीन वटा खेल जितेकाले समेत खेलाडीहरु उत्साहित रहेको बताउनुभयो ।पाहुना टोली ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले उपाधि जित्ने गरी खेल्ने बताउनुभयो ।
फाइनल खेलमा दुबैको उत्तिकै सम्भावना रहने बताउँदै उहाँले पुलिसको ‘टिम स्पिरिट’ र ‘फाष्ट गेम’ प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ फाइनल खेलमा दुबै टिमको ५०÷५० सम्भावना हुन्छ । हामी जित्नका लागि मैदानमा उत्रिने छौँ, उपाधि जितेर फर्कन चाहन्छौँ ।”
पुलिसका कप्तान राम वाजीले टोलीमा धेरै युवा खेलाडीहरु रहेको र उपाधि जित्नका लागि शतप्रतिशत मेहनत गरेर खेल्ने बताउनुभयो ।
“पुलिस टिममा अहिले धेरै नयाँ भाइहरु रहेका छन् । पहिलाजस्तो स्टार खेलाडी छैनन् । तर हामीले मैदानमा सकेको दिनेछौँ ।” उहाँले भन्नुभयो ।
प्रतियोगितामा पुलिसले प्रि–क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लव पोखरालाई १–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाईज क्लव युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाईज युनाईटेड क्लवलाई १–० गोल अन्तरले हराउँदै फाईनलमा स्थान बनायो ।
पाहुना टोली ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाईटेडलाई ३–० र सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउने छन् ।