आहा ! रारा पोखरा गोल्डकप:थ्रीस्टारलाई स्तव्ध बनाउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

हिमाली आवाज । विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलको दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स उपाधि नजिक पुगेको हो ।नेपालको थ्रीस्टारलाई हराएको ब्ल्याक बुल्सले अब फागुन ३ गते विभागीय नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ ।

पोखरामा पहिलो पटक फुटबल खेल्न आएको ब्ल्याक बुल्सले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै प्रतियोगिताको पाँट पटकको च्याम्पियन थ्रीस्टारलाई निरास बनायो ।

खेलको २५ औँ मिनेटमा ब्ल्याक बुल्सले कुभोनचेक ओलिमोभको गोलमा अग्रता बनाएको थियो । खेलको ५८ औ मिनेटमा असिफबेक ओरिफजोनोभ डिबक्सभित्रबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ६३ औँ मिनेटमा सात्तोरोभले डिबक्स बाहिर बल अघि बढाउँदै थ्री स्टारका तीन डिफेण्डरलाई छक्काएर गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको ८७ औ मिनेटमा साइडजामोलको गोल गरेपछि थ्रीस्टार फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
थ्रीस्टार क्लबले समेत खेलमा केही गोल गर्ने मौका पाएको थियो । तर उसले खेलमा प्राप्त अवसरको सदुपयोग गर्न नसक्दा उपाधि होडबाट बाहिरिएको छ ।

Comments
Loading...