माछापुच्छ्रेको कालीमाटीमा अन्नपूर्ण आधारभुत स्कुलको भवन शिलान्यास:गाउँलेमा खुशीयाली

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–८ कालीमाटीस्थित अन्नपूर्ण आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद भण्डारीलाई विद्यालयको जीर्ण भवन देख्दा सँधै चिन्ताले सताइरहन्थ्यो । एक्यापले तीन दशकअघि बनाएको भवन पुरानो भएको थियो ।

पर्यटन क्षेत्रमा समेत स्थापित बन्दै गर्नुभएका भण्डारीले विद्यालयको अध्यक्ष बनेपछि नयाँ भवन बनाएर विद्यालयको रुप फेर्ने योजना थियो ।
माछापुच्छ्रे गाउँपालिकाकै दुर्गम क्षेत्र त्यसमाथि विद्यालयमा न्यून विद्यार्थी संख्याका कारणले उहाँले धेरै ठाउँमा पहल गरेपनि भवनको योजना परेन । । वडा र पालिकाको बजेटले भवन बनाउन सम्भव थिएन, केन्द्रकै भर पर्नुको विकल्प थिएन ।

अघिल्लो सरकारका अर्थमन्त्री वर्षमान पुनको सल्लाहकारमा माओवादी केन्द्र कास्कीका नेता एवं संविधानसभा सदस्य राजकाजी गुरुङ हुनुहुन्थ्यो । वडाध्यक्ष राम गुरुङ लगायतले उहाँलाई राजकाजीलाई भेटेर भवनका लागि बजेट विनियोजनको प्रश्ताव गर्न आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, वडाध्यक्ष लगायलाई लिएर उहाँले अर्थमन्त्रीका सल्लाहकार राजकाजीलाई भेट्नुभयो । राजकाजीले आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।

नभन्दै चालू वर्षमा विद्यालयको भवन निर्माणका लागि केन्द्रबाट रु एक करोड विनियोजन भयो । तीनै राजकाजी गुरुङको प्रमुख आतिथ्यतामा बुधबार भवन शिलान्यास हुँदै गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारी मात्र होइन कालीमाटीका स्थानीयमा खुशीको सीमा रहेन । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीको रु एक करोड लगानीमा दुई तलाको आठ कोठाको पक्की विद्यालय भवन निर्माण गर्न लागिएको हो ।

संविधानसभा सदस्य राजकाजी गुरुङ र गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भवन शिलान्यास गर्नुभयो । चालू आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी राना कन्ष्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको छ ।

“पुरानो भवन त्यही पनि विसं २०६२ को भूकम्पले क्षति पुग्यो । ढुँगा र माटोको गारो चर्किएको ठाउँबाट कक्षामै सर्प आउने हुँदा बालबालिकालाई डर थियो । ठूलो प्रयासले नयाँ भवन सुरु गर्दै गर्दा खुशी लागेको छ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले भन्नुभयो । शिक्षाको गुणस्तर कमजोर भएका कारणबाटनै बसाइसराई बढेको भन्दै उहाँले सुविधासम्पन्न पूर्वाधारले गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयको नयाँ भवन निर्माण हुने भएपछि कालीमाटीका स्थानीयवासी समेत उत्साहित भएका छन् । स्थानीइ पूर्णभद्र ढुँगानाले भन्नुभयो, “खरको छाना र चित्राको भकारीले बारेर स्थापना गरेको विद्यालयमा अहिले दूई तलाको पक्की भवन निर्माण हुँदै गर्दा हामी सबै गाउँले खुशी छौँ । म अहिले ६३ भएँ । २३ वर्षदेखी योजना माग्दै हिँडेको अहिले आएर पूरा भएको छ ।”

कार्यक्रममा संविधानसभा सदस्य राजकाजी गुरुङले अबको राजनीतिले जनताको जीवनमा समृद्धि ल्याउनुपर्ने बताउनुभयो । विगतलाई समिक्षा गरेर जनताको जीवन माथि उठाउने विकासको राजनीति गर्न उहाँले आग्रह गर्नुभयो ।“समृद्धिका लागि उत्पादनको विकल्प छैन । शिक्षा, स्वास्थ्य लगायतका जनताका मौलिक अधिकारको संरक्षण गर्ने गरी काम गर्नु आवश्यक छ । ” नेता गुरुङले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले स्थानीय सरकारले सबैलाई समेटेर विकासका लागि काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष सीता अधिकारीले शैक्षिक गुणस्तर अभिवृद्धिलाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सुविधासम्पन्न भौतिक पूर्वाधारले शिक्षाको विकासमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङ, वडा नं ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री, विद्यालयका संस्थापक तुलसी प्रसाद सुवेदी, पूर्व अध्यक्ष गौरीप्रसाद दाहाल, संघीय आयोजना कार्यान्वयन इकाईका महेन्द्र केसी, विद्यालयका प्रधानाध्यापक दीपकराज ढुँगाना लगायतले भवन निर्माणले आफूहरु खुशी भएको बताउनुभयो ।

Comments
Loading...