हिमाली आवाज । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कास्कीले करार सेवाबाट हटाइएको पोखरा महानगरका स्वास्थ्यकर्मीलाई सर्वोच्च अदालतको आदेशानुसार काममा लगाउन माग गरेको छ ।

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कास्कीका अध्यक्ष विष्णुराज घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार स्वास्थ्यकर्मीहरुलाई तत्काल हाजिर गराई कामकाजमा लगाउन र स्वास्थ्य सेवा पाउने जनताको अधिकारको सम्मान गर्न माग गर्नुभएको हो ।
पोखरा महानगरपालिकामा विगत लामो समयदेखि करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको गत माघ ३ गतेबाट करार सम्झौता नवीकरण नगर्ने पोखरा महानगरपालिकाले निर्णय गरेको थियो ।
सो निर्णयका विरुद्धमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु समेत ५५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिट अपर सर्वोच्चले गत माघ १३ गते प्रारम्भिक नगरसभाको निर्णय तत्काल कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश थिएको थियो ।
जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्यका कर्मचारी अभावमा आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, शहरी स्वास्थ्य केन्द्रहरुबाट प्रवाह हुने नियमित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको र जनताको मौलिक हकमा अवरोध पुगेको जनाएको छ ।