आहा ! रारा पोखरा गोल्डकप:डिफेण्डिङ च्याम्पियन आर्मीलाई चर्च ब्वाइजले हरायो

हिमाली आवाज । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जीत निकाल्दै चर्च व्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा ९० मिनेटको नियमित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा चर्चले अग्रता बनायो ।
नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडरमार्फत गोल गरे । भुसालले गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा समेत दुबै टोलीले गोलका केही मौका पाएकामा सुदपयोग गर्न सकेनन् ।

अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यसवर्ष आफ्नो पहिलो खेलबाटनै बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च व्वाइजले भने एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेलेपनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउने छन् ।

Comments
Loading...