हिमाली आवाज । थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा गोलकिपर सरिन जिसीको उत्कृष्ट प्रदर्शनले थ्रीस्टारका मछिन्द्र फुटबल क्लबलाई हराउन सफल भएको हो ।
खेलको नियमित तथा थप गरिएको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले खेल जित्यो ।

पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो ।
यता थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्र विभागीय टोली एपिएफ क्लबलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । थ्रीस्टारले भने सिधै क्वाटरफाइनल खेलेको हो ।
प्रतियोगिता अन्तर्गत सामेबार चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउने छन् ।