आहा ! रारा पोखरा गोल्डकप:संकटा पाहुना टोली थण्डर बोल्डसँग निरास

हिमाली आवाज । पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा प्रतियोगिताको तीन पटकको च्याम्पियन नेपालको सङ्कटा फुटबल क्लबलाई ३–१ गोलले निरास बनाउँदै पाहुना टोली थण्डर बोल्डले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

खेलको १७ औं मिनेटमा संकटाका मनिष पौडेलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि खेलको २४ औँ मिनेटमा थण्डर बोल्टले गोल फर्काउदै खेल बराबरीमा ल्याउन सफल भयो ।

संकटाका पौडेलले डि बक्स भित्रबाट पासाङ लामाको पासलाई सदुपयोग गर्दै गोल गरको थिए । थण्डर बोल्टले भने पेनाल्टीमा गोल गरेको थियो । थन्डरका टालाले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । करन राईलाई लडाएपछि थण्डरले पेनाल्टीको मौका पाएको थियो ।

खेलको ७७ औं मिनेटमा थण्डरका करन राईले टिमका लागि दोस्रो गोल गरे । खेलमा फर्किन संघर्ष गरिरहेको संकटा भने खेलको ८४ औं मिनेटमा पुनः अर्को गोल खान पुग्यो । थण्डरका आदर्श तामाङले विपक्षी टिमका किपर डिबक्सबाट बाहिर रहेको अवस्थामा मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

प्रतियोगितामा शनिबारदेखी क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन् । पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूके र विभागिय टोली नेपाल पुलिस क्लबकाबीच पहिलो क्वाटरफाइनलको खेल हुनेछ ।२४औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...