हिमाली आवाज । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिन ब्रा र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गर्नुभएको परेड अवलोकन गर्नुुभएको छ ।
नेपालको भ्रमणमा रहनुभएका उहाँहरूले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिनुुभएको थियो ।

समारोहमा अधिराजकुमारले भन्नुभयो, “अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।”
उक्त समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ लगायतले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गर्नुभएको थियो । परेडमा गोर्खा र ब्रिटिश कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो ।
गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरूका परिवारका सदस्यहरू उपस्थित थिए ।
सफल हुनपुगेका २७४ जना प्रशिक्षार्थीहरू एक वर्ष लामो कठोर, खुला र पारदर्शी छनोट प्रक्रिया पछि बेलायती सेनामा सामेल हुँदैछन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुने कार्यक्रममा जानकारी गराइयो ।
पोखरामा अधिराजकुमार र अधिराजकुमारीले गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) एरिया वेल्फेयर केन्द्र (एडब्लुसी) मार्फत बेलायती सेनामा काम गरेकाहरुलाई नेपालमा कसरी साथसहयोग उपलब्ध गराइएको छ भन्ने कुराको पनि प्रत्यक्ष अवलोकन गर्नुभयो ।