पोखरामा विश्वविद्यालय खेलकुद:२६ पदक जितेर त्रिभुवन विश्वश्विद्यालय च्याम्पियन

हिमाली आवाज । पोखरामा दुई दिनसम्म सञ्चालन भएको दोस्रो संस्करणको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना तथा गण्डकी विश्वविद्यालयको सहआयोजनामा भएको प्रतियोगिता आज सम्पन्न फाइनलमा त्रिवि १३ स्वर्ण नौ रजत र चार कास्य गरी २६ पदक जितेर दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भयो ।

प्रतियोगिता यही माघ २३ गतेदेखी पोखरा रंगशालामा सञ्चालन भएको हो । प्रतियोगितामा देशभरका नौ वटा विश्वविद्यालयले सहभागिता जनाएका थिए ।

यसैगरी तीन स्वर्ण दुई रजत र तीन कास्य पदकसहित सुदूरपश्चिम विश्वविद्यालय द्वितीय भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई स्वर्ण र तीन रजत पदकसहित तृतीय बन्यो ।
गण्डकी विश्वविद्यालयले एक स्वर्णसहित दुई रजत र पाँच कास्य पदक प्राप्त गरेको छ । काठमाडौँले दुई रजत र सात कास्य हात पार्दा पोखराले एक रजत तीन कास्य पदक प्राप्त गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले दुई कास्य, कृषि तथा वनविज्ञानले दुई कास्य र लुम्विनी विश्वविद्यालयले एक कास्य पदकमा चित्त बुझाएका छन् ।

विजेता खेलाडी तथा च्याम्पियन टोलीलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिष्टर डा कैलाश तिमल्सिना, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जना श्रेष्ठ, कार्यक्रम संयोजक तथा परिषद् बोर्ड सदस्य डा मधुसुदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, टफी मेडल तथा नगद पुरस्कार प्रदान गर्नु भयो ।

प्रतियोगितामा पुरुष भलिबल, महिला÷पुरूष एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी १९ स्वर्णपदकका लागि प्रतिष्पर्धा भएको थियो ।
यसैगरी तेस्रो संस्करणको विश्व विद्यालय खेलकुद प्रतियोगिता आगामी बर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले आयोजना गर्ने गरी झण्डा हस्तान्तरण गरिएको छ ।

Comments
Loading...