प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी निर्वाचित

हिमाली आवाज । नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । यसअघि संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गर्नुभयो ।

समिति उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला)मा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिव(समावेशी)मा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत हुनुभयो । सदस्यहरुमा सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने रहनुभएको छ । समितिका दुई सदस्य कार्यसमिति बैठकबाट पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल (तारा), अर्जुन गाहा (सुशान्त), रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट चयन हुनुभयो । केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी र शान्ति गुरुङलाई चयन गरिएको छ ।
दुई जनालाई सम्मान र पुरस्कार
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ । ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ । पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

Comments
Loading...