हिमाली आवाज । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन यही माघ २१ र २२ गते पोखरामा हुने भएको छ । पोखराको नयाँबजारस्थित सिल्भर प्लेट पार्टी प्यालेसमा हुने अधिवेशनको पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने निश्चित भएको प्रेस सेन्टर नेपाल गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको भव्य तयारी गरिएको छ ।
अधिवेशसन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखीकरण तथा अनुगमन समिति, अतिथि सत्कार समिति लगायतका समितिहरू निर्माण गरिएको छ ।
“हाम्रो अधिवेशनलाई ऐतिहासिक बनाउने गरी तयारीका काम भइरहेको छ । गण्डकी क्षेत्रमा पत्रकारका मुद्धाका बारेमा छलफल गर्दै जनपक्षिय पत्रकारितालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्ने बारेमा गहन बहस गर्नेछौँ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । ” काफ्लेले भन्नुभयो ।
अधिवेशनमा गण्डकीका ११ वटै जिल्लाबाट प्रतिनिधि तथा प्रवेक्षकहरु गरी १ सय ५० जना भन्दा बढीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले जानकारी दिनुभयो । महासचिव सन्तोष गौतमले अधिवेशनले समसामयिक विषयमा पोखरा घोषणापत्र जारी गर्ने बताउनुभयो ।