हिमाली आवाज । पोखरामा यही माघ २२ देखी फागुन ३ गतेसम्म चौविसौँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । यस प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुँदैछन् ।
यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी विदेशी टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागी हुने अध्यक्ष बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
यसैगरी सो प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ ।प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिनुभयो ।
प्रतियोगितमा रु एक करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख २० हजार खर्च हुने आयोजकले सहारा क्लबले जनाएको छ ।
पोखरा महानगर पालिकाले संरक्षकत्तव रहेको आहा रारा पोखरा गोल्डकपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ ।
क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै निशुल्क आवाश सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालकहरु आश्रित रहेका छन् ।